‘ऊनको स्वीटर’ को छायाङ्कन प्रारम्भ

काठमाडौं २७ जेठ

नयाँ नेपाली फिल्म ‘ऊनको स्वीटर’ को शुभ मुहूर्तसँगै आइतवारदेखि छायाङ्कन प्रारम्भ भएको छ ।

पाँचथरको साधुटारबाट छायाङ्कन प्रारम्भ गरिएको जानकारी दिँदै निर्देशक नवीन चौहानले ३५ दिनको सेड्यूलमा छायांकन पुरा गर्ने तयारी रहेको बताए ।

यो फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । विपिन र मिरुनाले तीन दिनपछि फ्लोर ज्वाइन गर्ने छन् ।

फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् भने सह–लेखन सुरज कटुवालले गरेका छन् ।

फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले छायांकन गरिरहेका छन् । फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ ।