रास्वपाका सांसदहरुको कारण राष्ट्रिय राजनीतिमा समस्या आयोः कांग्रेस नेता निधि

काठमाडौं २५ जेठ 

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने गरी तयारीमा लागेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा अन्त्य गर्दै असन्तुष्टि र असहमतिलाई सहज बनाउन देशभर छलफल र भेटघाट अघि बढाएको जानकारी दिए ।

पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा समाधान गर्नुपर्ने उनको धारणा थियो । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको बताए । यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि त्यो टिक्न नसकेको उनको भनाइ थियो ।

पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनले बताए ।