विश्वकपमा बुधबार तीन रोचक भिडन्त : फ्रान्स–सेनेगल, इराक–नर्वे र अर्जेन्टिना–अल्जेरिया आमनेसामने

काठमाडौँ २  असार 

फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार हुने तीन महत्वपूर्ण खेलप्रति विश्व फुटबल समर्थकहरूको विशेष चासो देखिएको छ। आज फ्रान्सले सेनेगलसँग, इराकले नर्वेसँग तथा अर्जेन्टिनाले अल्जेरियासँग प्रतिस्पर्धा गर्दैछन्।

राति १२ः४५ बजे हुने फ्रान्स र सेनेगलबीचको खेललाई दिनकै सबैभन्दा आकर्षक भिडन्तका रूपमा हेरिएको छ। स्टार खेलाडीहरूले भरिएको फ्रान्सेली टोलीमा किलियन एम्बाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिसे रहेका छन्। यता, सेनेगलले साडियो माने, इस्माइला सार र इलिमान एनदियाएको साथमा बलियो चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई पराजित गरेको ऐतिहासिक पृष्ठभूमिका कारण पनि यो खेल थप रोचक बनेको छ।

त्यसपछि बिहान ३ः४५ बजे इराक र नर्वे आमनेसामने हुनेछन्। लामो अन्तरालपछि विश्वकपमा फर्किएको इराक सुखद सुरुआतको खोजीमा छ भने नर्वे पनि १९९८ पछि पुनः विश्वकपमा सहभागी भएको हो। नर्वेका स्टार फरवार्ड इर्लिङ हालान्ड र कप्तान मार्टिन ओडेगार्डमाथि समर्थकहरूको विशेष ध्यान रहनेछ।

बिहान ६ः४५ बजे हुने अर्को खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाको सामना गर्नेछ। उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनासँग लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरो जस्ता प्रमुख खेलाडी छन्। अल्जेरियाले भने कप्तान रियाद माहरेजको नेतृत्वमा बलियो चुनौती दिने तयारी गरेको छ।

विश्वकपको समूह चरणमै हुने यी खेलहरूले अंक तालिकाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ। कागजमा फ्रान्स, नर्वे र अर्जेन्टिना बलिया देखिए पनि सेनेगल, इराक र अल्जेरियाले अप्रत्याशित नतिजा निकाल्न सक्ने भएकाले खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ।