भरतपुर, २० जेठ
विश्व साइकल दिवसको अवसर पारेर पोलर स्टार सेकेन्डरी बोर्डिङ स्कुलले स्वस्थ जीवनशैली प्रवर्द्धन तथा साइकल प्रयोगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विशेष साइकल र्याली कार्यक्रम आयोजना गरेको छ। विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न र्यालीले नियमित साइकल प्रयोगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने सन्देश प्रवाह गरेको थियो। कार्यक्रममा सहभागीहरूले विद्यालय परिसर तथा आसपासका क्षेत्रको परिक्रमा गर्दै वातावरण संरक्षण, स्वास्थ्य प्रवर्द्धन र ट्राफिक सचेतना सम्बन्धी सन्देशहरू समेत दिएका थिए। विद्यालयले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने बिद्यालय सञ्चालक समितिका अध्यक्ष प्रा.डा. देवी प्रसाद कडेंलले बताउनु भएको थियो ।
पछिल्लो समय प्रविधिको बढ्दो प्रयोग सँगै शारीरिक गतिविधि घट्दै गएको अवस्थामा विद्यार्थीहरूलाई नियमित व्यायाम र स्वस्थ जीवनशैली प्रति प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक दयानिधि अर्यालले जानकारी दिनु भएको हो। साइकललाई वातावरण मैत्री तथा किफायती यातायातको माध्यमका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता पनि कार्यक्रममा औंल्याइएको थियो।
साइकल र्यालीको भरतपुर महानगरपालिका वडा नं ८ का वडाध्यक्ष जिवनाथ कडेलले उद्घाटन गर्नु भएको थियो । विद्यालयका अतिरिक्त्त कृयाकलाप प्रमुख बुद्धिसागर कडेंलले साइकल चलाउने बानीले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने बताउनु भएको थियो । साथै, साइकलको प्रयोगले इन्धनको खपत कम गरी वातावरण प्रदूषण न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरिएको थियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले साइकल प्रयोगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने सन्देश दिएका थिए। विश्वभर हरेक वर्ष जुन ३ मा मनाइने विश्व साइकल दिवसले साइकललाई सरल, भरपर्दो, सस्तो तथा वातावरणमैत्री यातायातको साधनका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यस दिवसको अवसरमा आयोजित पोलर स्टार सेकेन्डरी बोर्डिङ स्कुलको कार्यक्रमले स्वास्थ्य, वातावरण र दिगो जीवनशैलीबारे सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक खगेन्द्र अधिकारी को समेत उपस्थिती रहेको थियो