काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका छन्। विश्व क्रिकेटकै सर्वाधिक सफल बलरमध्येका एक अष्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको ‘सबैभन्दा छिटो १५० विकेट’ लिने कीर्तिमानलाई तोड्दै लामिछानेले विश्व क्रिकेटमा नयाँ इतिहास रचेका हुन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा ३ विकेट लिँदै सन्दीपले यो सफलता हात पारेका हुन्।
उनले मात्र ७३ एकदिवसीय खेल खेल्दै १५० विकेटको आँकडा पार गरेर यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। यसअघि यो अद्वितीय उपलब्धि अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो, जसले ७७ खेल खेल्दै १५० विकेट पूरा गरेका थिए। सन्दीपले स्टार्कको तुलनामा ४ खेल अगावै यो ऐतिहासिक कोसेढुङ्गा पार गर्न सफल भएका छन्।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा सन्दीपले स्कटल्यान्डका महत्वपूर्ण तीन ब्याट्सम्यान जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिएका थिए। खेलमा आफ्नो दोस्रो विकेट लिने बित्तिकै उनले स्टार्कको रेकर्डलाई आधिकारिक रूपमा भङ्ग गर्दै विश्व कीर्तिमानमा आफ्नो नाम दर्ता गराएका हुन्।