मेयर प्रलाद सापकोटाद्वारा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

रत्ननगर, पौष ४

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले आफूले नगरपालिकाबाट प्राप्त गर्ने सेवा सुविधालाई समाजसेवामा लगाउने क्रम जारी राखेका छन् । मेयर हुनु अघिदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आएका सापकोटाले मेयर भएपछि नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधालाई व्यक्तिगत सुख सुविधामा होइन, समाजको हितमा खर्च गर्ने क्रमलाई निरन्तरता दिएका हुन् । पछिल्लो तीन महिनामा उनले प्राप्त गरेको १ लाख ३ हजार रुपैयाँ बराबरको तलब भत्ताबाट शैक्षिक सामग्री र जाडोयाममा लगाउने ट्रयाक खरिद गरी वडा नम्बर १२ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय जमुनापुरका विद्यार्थीलाई सहयोग प्रदान गरेका हुन्।

शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा मेयर सापकोटाले आफैं उपस्थित भएर उक्त सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरे। सामग्री हस्तान्तरण गर्दै उनले भने, “मेयर हुनु अघिदेखि नै म समाजसेवामा लागिपरेको व्यक्ति हुँ। मेयर भएपछि यो जिम्मेवारीले मलाई अझ बढी अवसर दिएको छ। नगरपालिकाबाट मैले प्राप्त गर्ने तलब भत्ता मैले पूर्ण रूपमा समाजसेवामा खर्च गर्दै आएको छु। यो रकमबाट मैले व्यक्तिगत खर्च गरेको छैन, बरु आवश्यकता परेका ठाउँमा सहयोग पुऱ्याएको छु।”

उनले थपे, “नगरपालिकाले मेयरका लागि दिने सवारी साधनको सुविधा पनि मैले लिएको छैन। यो सुविधा नलिँदा सो रकम विकास निर्माणका काममा खर्च हुन सक्छ र नगरपालिकाको बजेटमा टेवा पुग्छ भन्ने मेरो विश्वास हो। हामीले साना साना कुरामा बचत गरेर ठूला विकासका योजनाहरूमा लगानी गर्न सक्छौं। मेरो कार्यकालमा प्रमुख प्राथमिकता शिक्षा र स्वास्थ्य हो र मैले पाउने तलबभत्ता पनि शिक्षा र स्वास्थ्य सेवामा खर्च गर्नेछु,” मेयर सापकोटाले भने।

मेयर सापकोटाले पछिल्लो समय आफ्नो विषयमा केही व्यक्तिबाट नकारात्मक टिप्पणी र आलोचना भएको प्रसङ्ग पनि जोडे। उनले भने, “केही व्यक्तिहरूले मेरो कामको बारेमा नराम्रो टिप्पणी गरेका छन्। तर यस्ता कुराले मलाई कुनै असर गर्दैन। बरु यस्ता टिप्पणीले मलाई अझ बढी ऊर्जा दिन्छ। म समाजसेवामा निरन्तर लागिरहन्छु र यो क्रम कहिल्यै रोकिँदैन। मेरो उद्देश्य केवल नगरवासीको हित र विकास हो।”

कार्यक्रममा उनले आगामी शिक्षानीतिबारे पनि महत्वपूर्ण जानकारी दिए। ‘हामी २०८३ सालदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गर्ने तयारीमा जुटेका छौं। यो नगरपालिकाको ठूलो उपलब्धि हुनेछ र हाम्रा बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्नेछ,” उनले भने।

विद्यालयका प्रधानाध्यापक झलकबहादुर अधिकारीले मेयर सापकोटाको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले भने, “जाडोको कठ्यांग्रिँदो मौसममा ट्रयाकसुट र शैक्षिक सामग्रीले विद्यार्थीहरूको पठनपाठनमा ठूलो सहजता थपिने छ।” उनले विद्यालयमा हाल १२६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै भौतिक पूर्वाधारको सुधारका लागि नगरपालिकाको ध्यानाकर्षण गराए । “गर्मीयाममा हाम्रो भवनको संरचनाका कारण पठनपाठनमा निकै कष्ट हुने गरेको छ। यसतर्फ विशेष ध्यान दिन अनुरोध गर्दछु,” उनले गुनासो पोखे।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडा नम्बर ४ का रामकुमार चौधरी, वडा नम्बर ६ का किरण महतो, वडा नम्बर १० का कलाधर पौडेल, वडा नम्बर ८ का कृष्ण चौधरी, वडा नम्बर ९ का अनन्त अधिकारी र वडा नम्बर १२ का सुन्दरमणि सुबेदीलगायतका जनप्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन अनिता अर्यालले गरेकी थिइन् भने चन्द्रकला पनेरुले स्वागत मन्तव्य राखेकी थिइन्। विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष डकबहादुर गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।