चितवनमा मनाइयो २५औं दुध दिवस

रत्ननगर । चितवनमा आइतबार २५औं विश्व दुध दिवन मनाइएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनको सहयोगमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । उद्योगहरुले दुधको भुक्तानी नदिएर पीडामा रहेका दुग्ध किसानहरुले मानवीय सेवा कार्य गरी दिवस मनाएका हुन् ।

दिवसको अबसरमा संघले देवघाटमा रहेको रामजानकी कन्या गुरुकुलमा आश्रित छोरीहरुलाई खिर र रत्ननगर स्थित गाँमबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङहरुलाई खिर र मोही खुवाइएको छ । दुई छुट्टा छुट्टै कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागिरथ तिमिल्सिना प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जिल्लाका किसानहरुले भोगेको समस्या अबगत गराउदै दुध र दुधबाट बनेका परिकार प्रयोग गर्न आग्रह गरिएको छ ।

केन्द्रीय संघका उपाध्यक्ष तिमिल्सिना गोबर सोरेर उत्पादन गरेको दुधको भुक्तानी किसानले नपाउदा सरकार गैरजिम्मेवार बनेको बताए । संघका जिल्ला अध्यक्ष किशोर बगाललेले पशुपालन व्यवसायलाई मर्यादित बनाउन र हेफर इन्टरनेशनल नेपालसंगको सहकार्यमा दुध उत्पादन बजारीकरणको काम भइरहेको बताए । पशुपालनको तीब्र विकास भइरहेको चितवनमा डेरी उद्योगहरुले भुक्तानी रोकेका कारण किसान पलायन हुने खतरा बढेको बताए । अनेक दुख गरेर उत्पादन गरेको दुधले बजार पाएको छैन उनले भने गत मंसिर देखि किसानले भुक्तानी पाएका छैनन् । चितवनमा दैनिक साढे तीनलाख लिटर दुध उत्पादन हुन्छ ।

डेढलाख लिटर दुध जिल्ला बाहिर जाने गरेको छ । ११५ बढी दुग्ध सहकारी रहेको चितवनमा ४० हजार किसान पशुपालनमा आबद्ध रहेका छन् । चितवनका किसानहरुले डेरी उद्योगबाट ८० लाख रुपैया भुक्तानी पाउन बाँकी छ । संघका उपाध्यक्ष रामेश्व सिंह ओलीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव कल्याण अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा गामबेसीको चेपाङ संरक्षण केन्द्र र आश्रित बालबालिकाको विषयमा जानकारी गराएका थिए ।