महिला उद्यमीलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण

लक्ष्मी ढकाल

रत्ननगर उद्योग बाणिज्य संघमा उद्यमी महिलाहरुलाई वत्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको छ । रत्ननगर उद्योग बाणिज्य संघसंगको सहकार्यमा कुमारी बैंक टाँडी शाखाले कार्यक्रमको आयोजना गरेको हो । उद्यमशिल महिलाहरुलाई वित्तीय व्यवस्थापन तथा अनुसासनको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले लगानी सुरक्षाको लागि वित्तीय साक्षरता आवश्यक रहेको बताए । बचत, लगानी सुरक्षा, वित्तीय अनुसासनले मात्र व्यवसायिक सफलता हासिल गर्न सकिने भन्दै सम्भावना भएका क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा कुमारी बैंक टाँडी शाखा प्रमुख निर्मल उप्रेतीले वित्तीय कारोबार, वित्तीय अनुसासन, बचत तथा खर्च नियन्त्रण लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा संघकी कार्यसमिति सदस्य तथा महिला स्वरोजगार तथा सशक्तिकरण समितिकी संयोजक इश्वरी सिंखडाले उद्यमी महिलाहरुलाई बैङ्किङ कारोबारको विषयमा जानकारी गराउदै वित्तीय व्यवस्थापनको आधारभूत ज्ञान दिलाउन कार्यक्रममा आयोजना गरिएको बताइन् । संघका बरिष्ट उपाध्यक्ष निराजन खनालको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष नारायणकाजी श्रेष्ठले बैंकहरुले ऋण प्रबाह गर्दा सरल र सहज तरिका अबलम्बन गर्न आवश्यक रहेको बताए । संघकी सदस्य लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, महासचिव उपेन्द्र शर्मा आचार्य, कार्यसमिति सदस्य हरिशरण भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा १२५ जना महिलाहरुको सहभागिता रहेको थियो ।