लक्ष्मी ढकाल
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा निजी स्तरका हात्तीहरुको एकीकृत व्यवस्थापनको माग गरिएको छ । जंगली हात्ती नियन्त्रण र निजी हात्तीको व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा हात्ती व्यवस्थापन संघर्ष समितिले निजी स्तरमा सञ्चालित हात्तीहरुको तत्काल एकीकृत व्यवस्थापन गर्न माग गरेको हो । स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर प्रलाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकास पौडेल, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना, वडाध्यक्षहरु, मध्यवर्ती, सौराहाका पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो । सर्वपक्षीय अन्र्तक्रियाबाट जंगली हात्ती नियन्त्रण र निजी हात्तीको व्यवस्थापनको लागि निकुञ्ज कार्यालय मार्फत वन विभागमा लिखित अनुरोध गर्ने निर्णय गरिएको छ । हात्ती र मानब वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन गरी विद्यामान जंगली हात्तीले निम्त्याएको समस्या सामधानको लागि दीर्घकालीन उपायको लागि उपयुक्त व्यवस्थापन मिलाउन निकुञ्ज मार्फत वन विभायलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले जंगली हात्ती नियन्त्रण र निजी हात्तीको एकीकृत व्यवस्थापनको लागि अब एक्सनमा गएर काम गर्ने बताए । पहिला मानबको सुरक्षा हुनुप¥यो उनले भने जंगली जनावरको आक्रमणबाट नगरबासी मर्नुहुँदैन । कार्यक्रममा सहभागी सौराहाका पर्यटन व्यवसायी हात्तीको एकीकृत व्यवस्थापनका लागि तयार भएका छन् । सौराहा र यस आसपासका क्षेत्रहरुमा जंगली हात्तीले मान्छे मार्न थालेपछि बनेको हात्ती व्यवस्थापन संघर्ष समितिका अध्यक्ष शरदकुमार चौधरीले अप्रिय घटना दोहोरिन नदिन निजी स्तरका हात्तीको एकीकृत व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हात्ती एकीकृत गर्दैमा जंगली हात्ती बस्ती प्रवेश गर्न नछाड्ने भन्दै बस्ती प्रवेश गर्न नसक्ने बाताबरण बनाउनु पर्नेमा जोड दिए । निकुञ्जबाट आउने जंगली हात्तीले माबन बस्तीमा आतङ्क मच्याएको विषय सामान्य नरहेको भन्दै थप घटना हुन नदिने गरी विकल्प खोज्नु पर्नेमा उनले जोड दिए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले जंगली हात्ती नियन्त्रण र निजी हात्तीको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको भन्दै हात्ती बस्ती प्रवेश गर्न नसक्ने गरी विकल्पना जानु पर्नेमा जोड दिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.पन्तले हात्ती नियन्त्रण र व्यवस्थापनको विषयमा जनस्तरबाट आएका विषयहरुमा निकुञ्ज गम्भिर रहेको भन्दै दीर्घकालिन व्यवस्थापनको लागि केन्द्र सरकारमा अनुरोध गर्ने बताए । विभाग र मन्त्रालयबाट नीतिगत व्यवस्था भएर आए हात्ती व्यवस्थापनको विषय सहज हुने भन्दै उनले त्यसका लागि जिल्ला स्तरबाट पहल कदमी आवश्यक रहेको बताए । कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडासदस्य सुर्य बहादुर तामाङ, व्यवसायी छुना रेग्मी लगाउतले मन्तव्य राखेका थिए । सौराहामा जंगली हात्तीको आतंक कायमै रहेको छ । सौराहाका बस्तीमा प्रवेश गर्दै आएको मकुना नामको जंगली हात्ती माघ २३ मा जंगलभित्र निकुञ्ज कर्मचारीले चलाएको गोली लागेर म¥यो । मकुनाको मृत्युपछि पनि सौराहामा जंगली भाले हात्तीको डर कायमै छ । फागुन २३ गते रत्ननगर नगरपालिका–७ बस्दै आएका ३५ वर्षीय सुरेश महतोको गोविन्दे नामको जंगली हात्तीको आक्रमणबाट मृत्यु भयो । सौराहामा हात्ती व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ । स्थानीयले हात्ती व्यवस्थापन संघर्ष समिति नै गठन गरेर विभिन्न निकायमा ज्ञापन बुझाएका छन् ।