म्यानमारबाट उद्धार गरिएका पाँच नेपालीलाई स्वदेश फर्काइयो

बैंकक ९ फागुन 

अनलाइन स्क्यामिङसम्बन्धी कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावास, बैंककले उद्धार गरी नेपाल फर्काएको छ ।
थाइल्याण्ड सरकारको सहयोगमा उद्धार गरिएका पाँच जना नेपालीमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूलाई आज नेपाल फर्काइएको राजदूतावासले जनाएको छ।

राजदूतावासका अनुसार, नेपाल सरकारले तोकेको मापदण्ड विपरीत भिसा लिएर विदेश गएर गैरकानुनी रूपमा रोजगारी गर्ने क्रम बढ्दो छ। धेरै पैसा कमाउने लोभमा नेपालीहरू ठगीमा परेर मानव तस्करी तथा शोषणको शिकार बन्ने गरेका छन्। राजदूतावासले यसप्रकारका गैरकानुनी गतिविधिबाट जोगिन नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।

आवश्यक परेमा नेपाली राजदूतावास, सम्बन्धित निकाय तथा नागरिक समाजसँग समन्वय गरी उद्धारको प्रयास गरिने पनि राजदूतावासले जनाएको छ।