एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक छः स्वास्थ्यमन्त्री पौडेल

 

काठमाडौं २४ माघ 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य रहेको बताएका हुन् । उनले भने, “पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपमा नरहने अवस्थामा पुर्याउने रणनीति लिएका छौँ । सन् २०३० सम्ममा १० देखि १४ वर्षसम्मका ९० प्रतिशतलाई खोप दिने, ३० वर्षमाथिका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर पहिचान भएका ९० प्रतिशतको उपचार गर्ने लक्ष्य छ ।”

क्यान्सरबाट उत्पन्न हुने भार र मृत्युदर घटाउँदै क्यान्सरका बिरामीहरुको जीवनस्तरमा सुधार ल्याउने दुरदृष्टि सरकारको रहेको बताउँदै मन्त्री पौडेलले भने, “नेपालको कुल मृत्युको ११ प्रतिशत हिस्सा क्यान्सरले लिएको छ । फागुन महिनालाई नसर्ने रोगको ‘स्क्रिनिङ’ महिनाको घोषणा गरी पाँच लाखको परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।”

यही माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म खोपको कभरेज २७।६८ प्रतिशत रहेको बताउँदै हालसम्म चार लाख ६४ हजार ६२ जनाले खोप लगाइसकेको उनले जानकारी दिए ।