थुनछेक बहस नसकिएपछि रवि लामिछानेलाई हिरासत पठाईयो

चितवन २३ माघ

रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । बुधवार अदालतले लामिछानेकाे मुद्दामा वहस नसकिएको भन्दै न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो ।

थुनछेक वहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट वहस पैरवी र थुनछेक गर्न बिहीवार ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन् ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मंगलवार दायर मुद्दामा बुधवारदेखि वहस सुरु भएको हो ।

बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले वहस गरे भने सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले वहस गरे ।

जाहेरवालाको तर्फबाट भने अधिवक्ता रमेश काफ्लेले वहस गरे । बिहीवार सरकारी वकिल ३ जना थपिने र रविको तर्फबाट १० जनाले वहस गर्नेछन् ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दावीसहित मुद्दा दायर भएको हो ।