दिल्ली विधानसभा मतदान सम्पन्न, १२ वर्षमा सबैभन्दा कम मतदान

 

नयाँ दिल्ली 

दिल्ली विधानसभाको ७० सिटका लागि बुधबार मतदान भएको छ। यस पटक ५७.८५% मानिसहरूले मतदान गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

उत्तर-पूर्वी दिल्लीमा सबैभन्दा बढी मतदान प्रतिशत ६३.८३% थियो भने सबैभन्दा कम दक्षिण-पूर्वी दिल्लीमा ५३.७७% थियो । यो पछिल्लो १२ वर्षमा सबैभन्दा कम मतदान हो।

दिल्ली विधानसभाको विगत ३ वटा चुनावको तुलनामा यस पटक कम मतदान भएको छ । सन् २०१३ मा ६५.६३% मतदान भएको थियो। २०१५ मा ६७.१२% र २०२० मा ६२.५९% मतदान भएको थियो। तीनै पटक दिल्लीमा आम आदमी पार्टीको सरकार बनेको थियो। यस पटक ५७.८५% मतदान भएको छ। यद्यपि, यो तथ्याङ्क अन्तिम होइन। यो बिहीबार बिहानसम्ममा अन्तिम रूप दिइनेछ।

धेरैजसो एक्जिट पोलहरूमा भाजपाको सरकार बन्ने देखिएको छ । हालसम्म १० वटा एक्जिट पोल आएका छन्। ८ मा भाजपाले बहुमत प्राप्त गर्ने देखिन्छ। दुईमा आम आदमी पार्टी (आप) ले सरकार बनाउने अपेक्षा गरिएको छ। भाजपाले ३९, आपले ३० र कांग्रेसले एक सिट पाउने अनुमान गरिएको छ।