मलेसियाको उत्तरी बोर्नियो राज्यको सारावाकको तटमा पानीजहाज दुर्घटना हुँदा मुख्य चालक (कप्तान) बेपत्ता भएका छन्। चालक दलका अन्य ६ सदस्यको भने उद्धार गरिएको मलेसियाली तटरक्षकले मंगलबार जनाएको छ।
सोमबार राति सम्पर्कविहीन भएको जहाज मंगलबार स्थानीय समयअनुसार बिहान ६ः३० बजे फेला परेको थियो। चालक दलका ६ सदस्यलाई चाँडै उद्धार गरिएको मलेसियाली सामुद्रिक प्रवर्तन एजेन्सी लाबुआनका निर्देशक इज्वानहादी इड्रोसले पत्रकार सम्मेलनमा बताए।
‘हामीले ६ जना चालक दलका सदस्यहरूलाई तुरुन्तै उद्धार गर्यौँ, जसमध्ये दुईलाई सामान्य चोट लागेको छ। अन्य चार जनाको अवस्था स्थिर छ’, उनले भने।
स्कुबा डाइभिङ टोलीले बेपत्ता कप्तानको खोजी गरिरहेको छ।
इज्वानहादीले प्रतिकूल मौसम परिस्थितिले पानीजहाज दुर्घटना भएको बताए।
अधिकारीहरूले खोजी र अनुसन्धान जारी राखेका छन्। रासस/सिन्ह्वा