काठमाडौँ ८ पुस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लामिछाने सांसदबाट निलम्बित भएको जनाएका छन्। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन्।
संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहकोले सो कानूनी व्यवस्थापको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ।”
यो सूचना प्रकाशित भएसँगै लामिछाने सांसदबाट निलम्बित भएका हुन्। अब मुद्दाको किनारा लागेसम्म उनी सांसदको रुपमा कुनै कामकाज गर्न पाउने छैनन् भने सेवा सुविधा पनि पाउनेछैनन्।
उनी विरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा तीन वटा कसूरमा मुद्दा दायर भएको थियो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाइएको छ। सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गर्दा केही फरक नपर्ने भए पनि सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दर्ता भएपछि निलम्बनमा पर्ने कानूनी व्यवस्था छ।