माओवादीले घर घरबाट मान्छेहरू युद्धमा सहभागी गराए, अनि सेना-प्रहरीले स्थानीयलाई माओवादी भन्दै बेपत्ता बनाउनेदेखि हत्या गर्ने काम गरे ।
१५ वर्ष पुगेर १६ टेक्दै थिए, पूर्नबहादुर रोका । गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययनरत उनी १७ भदौ ०६१ को एक साँझ घरबाट गाउँ निस्किएका थिए । सधैं साथीभाइसँग खेलेर घर फर्कने उनी त्यसपछि कहिल्यै घर फर्किएनन् । पूर्नबहादुर र उनीसँगै हराएका चार जनालाई कसले बेपत्ता पार्यो भन्ने पत्तै भएन ।
आमा मनकुमारीले छोराको धेरै खोजबिन गरिन् । रुकुमदेखि भारतसम्म खोज्न मान्छे पठाइन्, तर केही पत्तो लागेन । ‘संकटकालका बेला पक्राउ परेका आफन्त फर्कने सम्भावना कमै हुन्थ्यो’, उनले भनिन्, ‘मेरो छोरालाई पनि त्यही बेला बेपत्ता पारे ।’
युद्ध अवधिभर छोराको कुनै पत्तो लागेन । आलो घाउ बोकेर बाँचिरहिन्, उनी ।
जब ५ मंसिर २०६३ मा शान्ति सम्झौता भएसँगै देशमा युद्धविराम भयो, द्वन्द्वका क्रममा मृतक, बेपत्ता र घाइतेहरूको सूची खोज्न थालियो । बेपत्तामा परेकाहरूलाई महिना दिनभित्र खोजतलासी गर्ने गरी १२ बुँदे सहमति भयो ।
त्यसको केही समयपछि राज्यबाट द्वन्द्वका क्रममा बेपत्ता भएकाहरू नागरिकहरूको संकलन गर्ने काम भयो । र, मृतक, घाइते, बेपत्ता र विस्थापित परिवारलाई राहत स्वरूप केही रकम दिने घोषणा समेत गरियो ।
जब बेपत्ता, मृतक, घाइतेका नामावली संकलन सुरु भयो । द्वन्द्वका अति प्रभावित जिल्लाहरूमा पुगेर निवेदन लिन थालियो । मनकुमारीलाई लागेको थियो, द्वन्द्व सकिएपछि बेपत्ता छोराको खोजी होला । केही नभए कसले बेपत्ता परेको भनेर थाहासम्म पाइएला । तर बेपत्ताको सूचीमै उनको छेाराको नाम अटाएन ।