फिल्म ‘ज्वाइँ साब’को ग्रस कलेक्सन तीन करोड २५ लाख

काठमाडौं ५ कात्तिक

गत फुलपाति २४ असोजमा रिलिज भएको चलचित्र ज्वाईं साबले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै यो चलचित्रको १० दिनको व्यापार सार्वजनिक गरेको छ । यो चलचित्रका वितरक र निर्माताले विज्ञप्तिमार्फत चलचित्रको व्यापार सार्वजनिक गरेका हुन् ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।

वितरक पक्षले अनुसार यो चलचित्रले शनिबारसम्म १० दिनमा नेपालका चलचित्र घरमा कुल ३ करोड २५ लाख रुपैयाँको ग्रस ब्यापार गरेको छ, ‘हिजो शनिबारसम्म १० दिनमा चलचित्र ज्वाईं साबले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी संयुक्त रुपमा ३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको छ ।’

यो चलचित्रका निर्देशक बसन्त निरौलाले चलचित्रको व्यापार’bout भने,‘चलचित्र ज्वाईं साब अहिले दोश्रो सातामा प्रदर्शन भईरहेको छ र अहिले पनि उत्साहजनक रुपमा दर्शकको उपस्थिति हलमा छ । यो चलचित्र हेर्नु भएका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिनु भएको छ ।’

यो चलचित्रका प्रस्तुतकर्ता राजकुमार पण्डितले पनि लगानीको हिसाबले आफुहरु फाईदामा रहेको बताएका छन् । दशैंमा तीन वटा चलचित्र प्रदर्शन हुँदा पनि दर्शकहरुले आफुहरुलाई त्यत्तिकै मायाँ गरेको पण्डितले बताएका छन् ।

यो चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायतका कलाकारहरुको अभिनय छ ।

यसमा शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको द्धन्द्ध निर्देशन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत निर्देशन रहेको छ । रेड आइ फिल्मसको व्यानरमा निर्मित तथा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको यो चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता रहेका छन् ।