आदर्श नारीको तेस्रो शाखा राप्ती नगरपालिकामा विस्तार

सरिता पौडेल
चितवन २७  भदौ

महिला बालबालबालिका र मानवअधिकारको रक्षार्थ क्रियाशिल संस्था आदर्श नारी विकास केन्द्रले इच्छाकामना राप्ती नगरपालिकामा शाखा विस्तार गरेको छ । राप्ती नगरपाालिका ५ स्थित तरकारी तथा फलफुल संकलन तथा विक्रि केन्द्रको सभाहलमा गरिएको विशेष भेलामार्फत राप्ती नगरमा शाखा विस्तार गरिएको हो ।

राप्ती नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सीताराम वल,वडा नम्बर २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नम्बर ६ का वडा सदस्य ममता कुवर लगायतका जनप्रतिनिधि र सामाजिक व्यक्तिहरुको रोहवरमा भएको भेलाले अनिता खरेलको संयोजकत्वमा १३ सदस्यीय समिती गठन गरेको छ ।
समितीको सहसंयोजकमा तुलसी कुवँर, सचिव बुद्धिमाया श्रेष्ठ, सहसचिव सम्झना अधिकारी र कोषाध्यक्षमा लक्ष्मी रिजाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा धनमाया मगर, माया पाण्डे, इन्दिरा बर्तौला, कृष्णकला डल्लाकोटी, साहार प्रजा, निलकुमारी भट्ट, पार्वती नेपाली र सिता रिजाल चयन हुनुभएको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका वडा नम्बर ५ का वडाध्यक्ष सीताराम बलले उप्रेतीले संस्थाले गरिरहेको कामको उच्च प्रसंसा गर्दै महिला बालबालिकाको सवाल र हिसा न्युनिकरणको अभियानमा वडा कार्यालय संगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमको विशिष्ठ अतिथि समेत रहनुभएका वडा नम्बर २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले आदर्श नारीले मानवअधिकार, महिलाअधिकार र वालअधिकारसंगै उनीहरुको संरक्षण र विकासमा गरेको कामदेखि आफु प्रभावित भएको बताउनुभयो ।

यस्तै सामाजिक अभियन्ता अनिता मैनालीले आदर्श नारीलाई आफुले लामो समयदेखि चिन्ने भन्दै आदर्शले महिलालालाई परेको अन्यायको विरुद्ध बुलन्द आवाज उठाउने गरेको बताउनुभयो । उहाँले आदर्श नारी कुनै झुन्डको संस्था नभई प्रत्येक अन्यायमा परेकाहरुको न्यायका लागि अनवरत लड्ने संस्थाको रुपमा परिचित रहेको भन्दै राप्ती नगर समितीले पनि यसको मर्म र भावना अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहभागिले राप्ती नगरपालिकामा विशेषगरी, महिलामाथिको हिंसाको घटना बढ्दो क्रममा रहेको बताएका थिए । उनीहरुले लागुऔषध बालविवाह, वहुविवाह, लैगिंक हिंसाको समस्या जटिल रहेको भन्दै यसका विरुद्ध अभियान चलाउन संस्था उदाहरणीय र नमुना बनोस् भन्ने कामना गरेका थिए ।

सो अवसरमा आदर्श अभियानका सदस्य एवं मनोसामाजिक परामर्शकर्ता निश्चल सापकोटाले मानसिक स्वास्थय प्रवद्र्धनका लागि सबैले खुलेर संवाद गनुपर्नेमा जोड दिनुभयो । सकरात्मक सोच र विचारले मानसिक स्वास्थ्यलाई मजबुद बनाउन सकिने भन्दै उहाँले आदर्श नारीले राम्रो मन, सुन्ने मन र आदर्श मन को भनाईलाई मानिसको व्यवहारमा पनि लागु गराउन अभियानमुलक गतिविधि अगाडी बढाईरहेको बताउनुभयो । नेपालमा प्रतिदिन १९ जनाले आत्महत्या गरेको तथ्याकं बाहिर आइरहदाँ यसो हुनुमा मनलाई कन्ट्रोल गर्न नसक्नु भएको उहाँको भनाई थियो ।
संस्थाको कार्यक्रमलाई फराकिलो बनाउन शाखा विस्तार गरिएको संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले बताउनुभयो । आदर्शले यसअघि कालिका नगरपालिका र इच्छाकामना मा शाखा विस्तार गरिसकेको छ ।

नवगठित समिती संयोजक खरेलले आदर्श नारीको मर्म र भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा सचिव सरिता सुवेदी पाठक, कालिका शाखा अध्यक्ष मेनुका थापा अधिकारी लगायतले बोल्नुभएको थियो ।

महिलाहरुको अन्र्तनिहित शक्तिको सबैले कदर गरौ भन्ने मुल मन्त्रका साथ स्थापित यस संस्थाले महिला तथा बालबालिकाहरु विना भेदभाव सम्मानित एवं शोषण मुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजना गरि उनीहरुमाथिको विभेद, शोषण, दमन र हिंसात्मक गतिविधिहरुको अन्त्य गर्ने लक्ष्य राखेको छ ।

संस्थाले विभिन्न परिवेशबाट जोखिममा परेका असहाय महिला तथा बालबालिकाहरुको कानुनी अधिकारका लागि कानुनी परामर्श,सहायता,वकालत एवं पैरवी गर्ने र विपन्न तथा जेहेन्दार बालबालिकाहरुको लागि शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यस्तै घरेलु हिंसा , मानव बेचबिखन तथा ओसारपसार ,असुरक्षित वैदेशिक रोजगार ,बालश्रम तथा यौन शोषण,असुरक्षित गर्भपतन,द्धन्द्धप्रभावित, एच.आई.भी .एड्स सम्बन्धी चेतनामूलक तालिम,गोष्ठी र सेमिनारका साथै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

‘जसको सवाल उसकै नेतृत्व’ अनुसरण गर्दै व्यवहारिक रुपमा समस्याहरुको पहिचान गरी प्राथमिकताका आधारमा पीडित,प्रभावितहरुको सहभागिता एवं नेतृत्वमा जोखिम न्यूनीकरण कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको उद्धेश्य रहेको छ ।