चितवन ५ साउन
चितवनमा यात्रु बोकेको बस तेलको ट्याङ्कर ठोक्किँदा बसमा सबार १६ जना घाइते भएका छन्।शनिबार ३ बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणघाट–मुग्लिङ सडकखण्डअन्तर्गत भतेरी भन्ने स्थानमा बस र तेलको ट्यांकर एकआपसमा ठोकिँदा १६ जना यात्रु घाइते भएका हुन्।
नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्यांकरको पछाडि ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताउनुभयो।।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अरु १५ जना सामान्य घाइते छन्। घाइतेहरुको भरतपुरको नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुवै सवारी साधन र तेल ट्यांकरलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।