चितवन २ साउन
चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् । बुधबार दिउँसो भरतपुर महागनरपालिका- ७ का बासिन्दाको एक समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् ।
गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको थियो । सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएको थियो ।उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए । सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । आज वडा नं. ७ मा सर्भे गर्दागर्दै सयौ स्थानीय भेला भएर विरोध गरेका थिए ।
पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन् ।