कांग्रेसले टुंग्यायो १० मन्त्रीको नाम, गृहमा लेखक परराष्ट्रमा आरजु

काठमाडौं ३१ असार

मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् ।पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको नाम सिफारिस गरेपछि देउवाले १० जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन् ।

सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । शेखर–गगन पक्षलाई देउवाले स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालय छुट्याएका छन् ।

सो मन्त्रालयमा शेखर गगन समूहले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।