एमाले हाइकमाण्डले लगायो मन्त्रीको टुङ्गो, विष्णुदेखि योगेशसम्म

काठमाडौँ  ३१असार 

छलफलमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको छ । त्यसैगरी नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीलाई पनि मन्त्री बनाएर आफू नेतृत्वको सरकारमा सहभागी गराउने अध्यक्ष ओलीले सङ्केत गरेका छन् ।

यद्यपि ती नामहरूमा भोलिसम्म केही फेरबदलसमेत हुनसक्ने ती नेताको भनाइ छ । उनले मन्त्री छान्ने जिम्मा अध्यक्षलाई दिइएकाले ओलीको स्पिरिटमा काम गर्न सक्नेलाई मन्त्रीको जिम्मेवारी दिन लागेको बताए ।

यसअघि कांग्रेस एमालेबिच मन्त्रालयको भागबन्डा आइतबार टुङ्गिएको थियो । एमालेको भागमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन् ।

त्यसैगरी गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कांग्रेसको भागमा परेको नेताहरूले बताएका छन् । रातोपाटी