चितवन२९ असार
नारायणी नदीमा मृत भेटिएका भारतीय नागरिक ऋषिपाल साह सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।उनको साथमा भेटिएको एटीएम कार्ड र भारतीय आधार कार्डबाट पहिचान खुलेको थियो ।
शव भेटिएको स्थान बस खसेको भन्दा झण्डै ५० किलोमिटर तल भेटिएको हो।
उनी काठमाडौंबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्समा २९ जना सवार यात्रुमध्ये एक रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौं बौद्धमा बसेर व्यवसाय गर्दै आएका थिए ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।
यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।