नवलपरासीकाे धारापानीमा २२ हजार वटा ब्राेइलर कुखुरा मरे

नवलपरासी   २८ असार

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा झन्डै २२ हजार वटा ब्रोइलर कुखुरा मरेका छन् ।

अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ । शंकर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका हुन् ।

फार्मका तीन वटा कोठामा बिजुली आपूर्तिमा समस्या भएपछि अक्सिजन कमी तथा गर्मीले कुखुरा मरेका हुनसक्ने प्रहरीले जनाएको छ । तर अरू सङ्क्रमण पनि हुन सक्ने भएकोले विज्ञहरूबाट अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । फार्मका सञ्चालक टण्डनले कुखुराको बीमासमेत नभएको बताउनुभयो ।