काठमाडौं २७ असार
बाढी, पहिरोका कारण देशभर एक सय ३२ वटा सडक खण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडक खण्ड पूर्णरूपमा तथा एक सय १९ वटा सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडक खण्डमा एकतर्फी रूपमा यातायात सेवा सञ्चालन भएको छ । डुम्रे–बेसीशहर–चामे, विराटनगर–इटहरी–धरान, तानसेन–रिडी–कोरालालगायत सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् ।
मौसम पूर्वानुमान महाशाखाले पर्सि शनिवार बिहानसम्म देशका धेरैजसो क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाकाअनुसार अहिले मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भू–भाग आसपास रहेको छ । अब यो रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
यस्तै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ ।
आजदेखि तीन दिनसम्म कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रासस