देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ २३ असार 

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानलका कारण देशका विभिन्न क्षेत्रमा आठ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता हुनुका साथै सातजना घाइते भएका छन् ।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए । उनका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका जानकारी दिए । यसैगरी तनहुँ, गुल्मीलगायतका स्थानमा सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ ।

काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।