अमेरिकामा बेरोजगारी दर थोरै बढ्यो

वासिङ्टन 

अमेरिकामा जुनमा थोरै बेरोजगारी बढेको सरकारी तथ्याङ्कले देखाएको छ । बेरोजगारी दर चार प्रतिशतबाट बढेर चार दशमलव एक प्रतिशत पुगेको हो ।

देशले गत महिना दुई लाख छ हजार रोजगारी थपेको श्रम विभागले जनाएको छ । यसले श्रम बजार अझै पनि अपेक्षाकृत लचिलो रहेको सङ्केत गर्दछ ।

मुद्रास्फीति कम हुनुका साथै उत्पादन तथा सेवा क्षेत्रको गतिविधि सुस्त भएको पृष्ठभूमिमा यो प्रतिवेदन आएको हो ।औसत घन्टाको आम्दानी मासिकरूपमा शून्य दशमलव तीन प्रतिशतले र अघिल्लो वर्षको तुलनामा तीन दशमलव नौ प्रतिशतले बढेको छ ।

हालैका दिनहरूमा तलब वृद्धिले उपभोक्ता मूल्य मुद्रास्फीतिलाई पछाडि पारेको भए पनि यसको व्यापक अर्थतन्त्रमा सकारात्मक भाव देखिएको छैन । यसले राष्ट्रपति जो बाइडेनलाई आफ्ना आर्थिक नीतिहरूबारे जनतालाई विश्वास दिलाउन चुनौती थपेको छ ।