एमालेका मन्त्रीहरुले बुझाए सामूहिक राजीनामा

काठमाडौं १९ असार

नेकपा (एमाले) बाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । प्रधानमन्त्री प्रचण्डलाई बुधबार बालुवाटारमा भेटेर मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।  प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरी लगायत ८ जना मन्त्री थिए ।

साथै, एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । योसँगै प्रधानमन्त्री प्रचण्डले अब संविधानको धारा १०० बमोजिम संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानले सरकारमा दल विभाजित भएमा वा आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरेको छ ।

कांग्रेसको समर्थनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेपछि एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।